गठबन्धनबाट एक्ली उम्मेदवार गोमा चुनावी मैदानमा

0
47

आउँदो मङसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कर्णालीमा गठबन्धनबाट एक्ली उम्मेदवार गोमा गौतम कुँवर चुनावी मैदानमा उत्रिएकी छन् । उनलाई गठबन्धनको तर्फबाट माओवादी केन्द्रले जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको हो ।

माओवादी केन्द्र जुम्लाले कुँवर सहित कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी,डा कलबहादुर रोकाया र मनऋषि धितालको नाम सिफारिस गरेको थियो । सत्ता गठबन्धनको साझा उम्मेदवार बन्न सफल कुँवर अहिले मतदाताको घरदैलोमा छन् । कुँवरले भनिन् मतदाताले जिताउँछन् भन्ने पूर्ण विश्वास छु,  जितेमा इमानदारीसाथ जनताको सेवामा लाग्ने छु।

उनले महिला सशक्तीकरण र जुम्लामा पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाएकी छिन् । कुँवर २०७० मा संविधानसभा सदस्यमा समानुपातिकतर्फबाट निर्वाचित भएकी थिइन् । पशुपन्छी विकास राज्यमन्त्री समेत भइन्। चन्दननाथ नगरपालिका वडा नम्बर १ का रमानन्द आचार्य महिलाले सांसदमा प्रत्यक्ष टिकट पाएर संसद् लडेको जुम्लाका लागि पहिलो इतिहास भएको बताउँछन् ।

महिलालाई नेतृत्व तहसम्म पुग्न नदिने र नेतृत्व पाइहालेमा पनि पचाउन कन्जुस्याइँ गर्ने समाजमा प्रत्यक्षतर्फ चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिनु राम्रो पक्ष भएको उनले बताए । गठबन्धनकी उम्मेदवार कुँवरसँग एमालेका रतननाथ योगी, नेमकिपाका डिल्लीप्रसाद काफ्लेले  र राप्रपाका ज्ञानबहादुर शाहीले चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन् । स्वतन्त्र उम्मेदवारी दिएका माओवादी नेता डाक्टर कलबहादुर रोकायाले भने प्रेस विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here