अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

0
54

मनाङ । चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको चहलपहल बढ्न थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा पर्यटकीय याम सुरु भएसँगै पर्यटकको चहलपहल बढेको हो ।

यतिबेला दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटकको आगमन भइरहेको मनाङ धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले बताए । उनका अनुसार तिहारको बीचमा अझै पर्यटक बढ्दै जानेछन् ।

पर्यटकहरुको आगमन बाक्लिँदै जाँदा पर्यटक व्यवसायीहरु हर्षित भएका छन् । पर्यटक नआउँदा आम्दानी शून्य जस्तै भए पनि यतिबेला दैनिक ३० देखि ४० हजार रुपैंैयासम्म कमाइ हुने गरेको मस्र्याङ्दी गाउँपालिका –४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले सुनाए । अर्का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले पनि पर्यटक बढेसँगै आम्दानीसमेत वृद्धि हुँदै गइरहेको बताए ।

यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन् । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । सन् २०२३ सुरु भएयता हालसम्म १४ हजार दुई सय १४ पर्यटक यस पदमार्गमा आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here