शिलान्यासको नौ वर्षपछि पुल बनाउन सुरु

0
121

उर्लाबारी । मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको नौ वर्षपछि निर्माण हुन थालेको छ । कानेपोखरी र रङ्गेली नगरपालिकाको सीमा खोलामा निर्माण हुने यो पुल फिचर एन्ड सराउद्दिन जेभिले २०७१ सालमा ठेक्का पाई काम सुरु गरेको थियो ।

प्रारम्भिक चरणमा १५ प्रतिशत मात्रै काम गरी सम्पर्कविहीन भएको निर्माण कम्पनीले दोस्रो पटक सम्झौता गरी काम थालेको हो । दोस्रो पटक सम्झौता गरेर एक सातासम्म काम गरेर फरार भएको कम्पनी पछिल्लो पटक सरकारका सबै अङ्ग परिचालन भएपछि काम गर्न तयार भएको हो ।

एक करोड १८ लाख रुपियाँमा १५ मिटर लम्बाइको पुल निर्माण गरी २०७७ को चैत मसान्तसम्ममा सडक डिभिजन कार्यालय मोरङलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो तर त्यो अवधिमा पनि कम्पनीले काम गरेन । दुई तर्फका स्पान राखेपछि निर्माण कम्पनी बेपत्ता भएको स्थानीय दुर्गा रेग्मीले बताए ।

कानेपोखरी–रङ्गेली सडक कालोपत्रे गर्ने ठेक्का पाएको कन्चनजङ्घा कन्स्ट्रक्सनले २०७७ को चैत १८ गते सरकारलाई सडक हस्तान्तरण गरिसक्यो तर पुल निर्माण गर्ने फिचर एन्ड सराउद्दिन जेभि कन्स्ट्रक्सनले पुल निर्माण नगरिदिँदा पाँच जनालाई गेउरिया खोलाले खाइसकेको छ । दुवै पालिकाले ठेक्का रद्द गर्ने गरी प्रशासनलाई दबाब दिएपछि पुल निर्माण सुरु भएको वडा नम्बर–२ का वडाध्यक्ष सुशील बुढाथोकीले बताए ।

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरी अन्तर्गतको सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख सुदर्शन कार्कीले कम्पनीले २०८० को असार मसान्तसम्मको म्याद मागेर निवेदन दिएको र सोही माग अनुसार म्याद थप भई काम सुरु गरेको बताए । उनका अनुसार निर्माण कम्पनीले ५७ लाख रुपियाँ भुक्तानी पनि लिइसकेको छ।

सराउद्दिन जेभिका फिल्ड कर्मचारी कुमोद पासवानले असार मसान्तभित्र पुल निर्माण सम्पन्न हुने बताए । २०७४ पछि कानेपोखरी गाउँपालिकाले बर्सेनि पाँच लाख रुपियाँ डाइभर्सन निर्माणमा खर्च गरिरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here