‘बालविवाह, जिन्दगी तबाह’

0
40

जनकपुरधाम । सप्तरीको खडक नगरपालिका–८ की सोनियाकुमारी मण्डल वडास्तरीय कोपिला बाल सञ्जालकी अध्यक्ष हुन् । उनले १४ वर्षकै उमेरमा भागेर विवाह गरेकी आफ्नी साथी माइतीघर फर्केर आउन नसकेको तर पोइलीघरमा भोगेको समस्याको खबर भने बेलाबेला आइरहेको सुनाइन् ।

‘आठ कक्षा पढ्दै गर्दा भागेर विवाह गरेकी साथीको त्यसपछि अनुहार पनि देख्न पाएको छैन । घरपरिवारले स्वीकार्न नसकेका कारण उनी फर्केर माइती पनि आउन पाउँदिनन् तर पोइलीघरमा भोगेको समस्याबारे कहिलेकाहीँ खबर आएको सुन्छु । सायद मजस्तै पढेको भए अहिले १० कक्षामा पुग्थिन्’, मण्डलले भनिन् ।

आफ्नै घर छेउमा १६ वर्षकै उमेरमा विवाह गरेर आएकी अर्की बालिकाले भोगेको समस्या देखेर मण्डलको मन अमिलो हुन्छ । मण्डलको भनाइ छ, ‘श्रीमानले नै अपहेलना र कुटपिट गरिरहेका छन् । गाउँ समाजका मान्छेले सम्झाउँदा ‘मेरो श्रीमती हो तिमीहरूलाई के मतलब’ भनेर थर्काउँछन् । प्रहरी प्रशासनलाई खबर गर्छु भन्दा भएकै घरबार बिग्रिन्छ भनेर उनैले रोक्छिन् । हामीलाई पनि सकस छ ।’

नजिकैकी साथीले १३ वर्ष नपुग्दै विवाह गरेपछि भोगेको समस्या सम्झिँदा पिपरा गाउँपालिका–३ महोत्तरीकी चाँदनी दासलाई पनि नमीठो लाग्छ । ‘मेरो छिमेकी साथीले न पढ्न पाइन् न रमाउन, सानै उमेरमा बच्चा भएपछि उनले आफ्ना सबै चाहनालाई दबाएर अपमानित जीवन बिताउनुपरेको छ’, चाँदनीले भनिन्, ‘सानै उमेरमा विवाह गर्नु त ठूलो दलदलमा पर्नु पो रहेछ । अहिले उनले पछुतो त मानिरहेकी छन् तर जिम्मेवारीको दलदलबाट उम्किने बाटो पनि त छैन !’

श्रीरामनारायण अयोध्या उच्च मावि महोत्तरीबाट कक्षा १२ को पढाइ सकेकी अञ्जली दास त झन्डै सानै उमेरमा विवाहको दलदलमा फसिसकेकी थिइन् । ‘बुबाआमाको दबाब र छरछिमेकको कुरा सुनेको भए मेरो जिन्दगी पनि तबाह हुन्थ्यो होला तर मैले मानिनँ । अहिले मेरो पढाइ देखेर र अरूका दुःखद् कहानी सुनेर बुबाआमा पनि ठूलो दुर्घटनाबाट जोगिए छ भनेर खुसी हुनुहुन्छ’, अञ्जलीले सुनाइन् ।

सप्तरीको खडक नगरपालिका–६ कि सिमानी चौधरीले देखिरहेको घटना त झनै विदारक छ । ‘मसँगै कक्षा ८ मा पढिरहेकी साथीले लहलहैमा बिहे गरिन् । अहिले उनको एउटा बच्चा भइसक्यो अर्को बच्चा पेटमा छ । सुरुमा त बच्चा बोकेरै स्कुल गइन् तर अर्को बच्चा पेटमा आएपछि कसरी जानु ! अहिले ‘बालविवाह, जिन्दगी तबाह’ भनेर दुःखेसो गरिबसेकी छन्’,  सिमानीले स्मरण गरिन् ।

‘कोही लहलहैमा त कोही अभिभावकको करकापमा विवाह गर्छन् । अभिभावकमा जिम्मेवारीबाट पन्छिन, सानैमा कन्यादान गर्दा पुण्य कमाइन्छ भन्ने मानसिकता र बालबालिकामा पनि एक दिन बिहे गर्नै त छ त्यसैले आजै गरिदिऊँ भन्ने मानसिकता छ’, खडक नगरपालिका स्तरीय बाल सञ्जालकी अध्यक्ष मञ्जुला साहले भनिन्, ‘यी दुवै मानसिकता नै बालबालिकाको भविष्य निर्माणका लागि बाधक छन् । त्यसैले ‘पहले करु शिक्षा दान, तब करु कन्यादान’ भनेर सन्देश फैलाउन सबै लाग्नुपर्छ ।’

सर्लाहीको मिर्चैयाकी लालमती यादवलाई विवाह गरेपछि पढ्न नपाउने मात्रै होइन दाइजोका नाममा जिउँदै आगो लगाउने गरी समाजमा भइरहेका घटनाले झस्काउने गरेको छ । ‘मैले पनि अरूको लहलहैमा लागेर विवाह गर्ने सोच बनाएकी थिएँ तर सुझबुझ नहुँदा, लोभलालचमा परेर गरिने विवाहले तनाव दिने र ज्यानै लिने रहेछ । त्यसैले अब आफ्नो पढ्ने र आत्मनिर्भर बन्ने सपना पूरा भएपछि मात्रै सोचेर बिहे गर्छु’, उनको भनाइ छ ।

प्रदेश बालिका सञ्जालकी अध्यक्ष अजमेरी खातुनले अहिले किशोरावस्था (बालिका) पार गरिसकेकी छिन् । उनले सानै उमेरमा विवाह हुँदा आइपर्ने समस्याका बारेमा जानकारी दिँदै अरू किशोरीहरूलाई उमेर नपुग्दै विवाह नगर्न सुझाइरहेकी छिन् ।

‘मधेश प्रदेशमा उमेर नपुग्दै हुने विवाह र त्यसबाट हुने समस्याका बारेमा जानकारी पाएपछि मैले आफू मात्रै होइन अरूलाई पनि सचेतना जगाउन थालेकी छु । एक दिन विवाह गर्नु त छँदैछ तर बुझ्ने भएपछि गर्दा पनि त हुन्छ नि ! यही सोचेर बालविवाह निषेधीकरणका लागि काम गरिरहेका छौँ’, खातुनले भनिन्, ‘यो अभियानमा लाग्दा बालविवाहका कारण भोगेका थुप्रै समस्याबारे थाहा पाएकी छु । १८-२० वर्षको उमेर त आफ्नो भविष्य बनाउने समय हो । बालविवाहले शारीरिक, मानसिक, बौद्धिक विकासमा अवरोध सिर्जना गरी अर्काको सहाराबिना बाँच्नै नसक्ने अवस्था बन्छ । त्यसैले उमेर पुगेपछि मात्रै विवाह गर्न म सबैलाई आग्रह गर्दछु ।’

मधेशमा बालविवाहको अवस्था
विसं २०७८ को जनगणनाअनुसार नेपालमा करिब ३० प्रतिशत बालबालिकाको विवाह २० वर्ष उमेर नपुग्दै भइरहेको छ । देशका सात प्रदेशमध्ये बालविवाहको समस्या सबैभन्दा बढी मधेशमा छ । सोही जनगणनाअनुसार मधेशमा सबैभन्दा बढी अर्थात् ३७ दशमलव तीन प्रतिशतले औसतमा १८ वर्षअगावै विवाह गर्छन् । त्यसमध्ये ५२ दशमलव दुई प्रतिशत बालिका र १९ प्रतिशत बालकहरू छन् । जबकि राष्ट्रिय रूपमा उमेर नपुग्दै विवाह गर्ने २९ दशमलव सात प्रतिशतमध्ये बालिकाको हिस्सा ४१ दशमलव एक र बालकको हिस्सा १५ दशमलव चार प्रतिशत रहेको छ ।

त्यति मात्रै होइन बहुआयामिक सूचक क्लष्टर सर्भे २०१९ अनुसार मधेशमा कूल जनसङ्ख्याको आठ दशमलव नौ प्रतिशत बालबालिकाले १५ वर्ष नपुग्दै विवाह गर्छन् । यसमा पनि बालकको प्रतिशत दुई दशमलव एक छ भने बालिकाको १४ दशमलव दुई प्रतिशत छ । सोही अध्ययनअनुसार १८ वर्षअगावै विवाह गर्ने २९ दशमलव तीन प्रतिशतमध्ये ४६ प्रतिशत बालिका र सात दशमलव आठ प्रतिशत बालक रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले नै २०–२४ वर्ष उमेर समूहका विवाहित जनसङ्ख्यामध्ये राष्ट्रिय रूपमा २९ प्रतिशतको विवाह १८ वर्षअगाडि नै भएको देखाएको छ । मधेशमा भने यो सङ्ख्या ३५ प्रतिशत छ । देशभर यो उमेर समूहका १६ प्रतिशत पुरुष र ३५ प्रतिशत महिलाले १८ वर्षअगावै विवाह गर्ने गरेकामा मधेशमा भने यो प्रतिशत पुरुषको १७ र महिलाको ४२ छ ।

कानूनी व्यवस्था र मधेश प्रदेशको पहल
नेपालकोे संविधानको धारा ३९(५) मा कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानूनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन भनी बालविवाहलाई रोक लगाएको छ । साथै मुलुकी अपराध, फौजदारी तथा कसुर सजाय ऐन, २०७४ मा बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष जेल र ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । सोही ऐनमा बालविवाहलाई विवाहसम्बन्धी कसुर मानेको छ र बालविवाह स्वतः बदर हुने उल्लेख छ ।

बालबालिकासम्बन्धी ऐन, २०७५ ले बालबालिकाको विवाह तय गर्ने वा बालबालिकासँग विवाह गर्ने वा गराउने कार्यलाई बालबालिकाविरुद्धको हिंसा मानेर (दफा ६६) रु. ७५ हजारसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था (दफा ७२) गरेको छ । तर पनि देशमा बालविवाह भइरहेकै छ । मधेशमा त यो समस्या झनै विकराल छ । त्यसैले मधेश प्रदेश सरकारले सन् २०३० सम्म प्रदेशलाई बालविवाह मुक्त बनाउन १० वर्षीय प्रादेशिक रणनीतिक योजना–२०७८ ल्याएको छ ।

त्यसैगरी, प्रदेश बालअधिकार ऐन–२०७७, सारभूत लैङ्गिक समानता नीति–२०७८, बाल सहभागितासम्बन्धी कार्यविधि–२०७८ र ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानमार्फत बालविवाह न्यूनीकरण, कुपोषणमुक्त प्रदेश बनाउने र दलित शिक्षा अभियानअन्तर्गत बालिकालाई अनुदान दिने नीति अख्तियार गरेको छ भने बालिका संरक्षण विधेयक प्रस्तावित अवस्थामा रहेको मुख्यमन्त्री सरोजकुमार यादवको भनाइ छ ।

प्रदेशका एक सय ३६ स्थानीय तहमध्ये हाल सिरहाको सुरुङ्गा नगरपालिका मात्रै बालविवाह मुक्त घोषणा गरिएको छ । सो नगरपालिकाका प्रमुख गीता चौधरी बालविवाह अन्त्यका लागि सबै सरोकारवालाले निर्ममतापूर्वक हस्तक्षेप गर्न र बालबालिकाले आफ्नो पढाइ र परिपक्व भएपछि मात्रै विवाह गर्ने सङ्कल्प लिनुपर्ने बताउँछिन् ।

महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा लाइफ नेपाललगायतका सङ्घसंस्थाको सहयोग तथा समन्वयमा आइतबार र सोमबार जनकपुरधाममा भएको दुईदिने मधेश बालिका सम्मेलन–२०८० मा सहभागी बालिका तथा किशोरीहरूले पनि बालविवाह रोक्न सबैले सहयोग गर्नुपर्ने बताएका छन् । मधेश बालिका सम्मेलनको दोस्रो संस्करणका रूपमा आयोजना गरिएको यस सम्मेलनमा मुख्यमन्त्री यादवले अब वैशाख १७ लाई बालविवाहविरुद्धको दिवसका रूपमा मनाउने घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here