फूल्ने समयमा अलैँची सुकेर सोत्तर

0
78

फुङ्लिङ । वसन्त ऋतुको आगमनसँगै अलैँचीले फूल खेल्न थाल्नुपर्छ । यो समय अलैँचीको मुना पलाउनुपर्ने समय पनि हो । तर अलैँची बगानमा अलैँचीको बोट सुकेर राताम्य भएका छन् । अलैँचीका बोट ढलिरहेका छन् । अलैँचीलाई शीतलता दिने बगानका रुख पनि सुकेका छन् । त्यसैले अलैँची बगानलाई कतै आगोको झिल्काले भेट्यो भने ढडेलोको जोखिम उत्तिकै छ । यो दृश्य हो ताप्लेजुङको फुङलिङ नगरपालिका–६ सिद्धिडाँडाको हो ।

वैशाख–जेठ महिनामा फूल फुल्नुपर्ने अलैँची अहिले बोट सुकेर सोत्तरजस्तै भएको छ । कुनै समयमा कालो सुनको उपनामले परिचित अलैँची अहिले बगानमै सुक्न थालेसँगै किसान चिन्तित बन्दै गाएका छन् । लामो समय वर्षा नहुँदा पहाडी क्षेत्रको मुख्य नगदेबाली अलैँची सुक्न थालेको हो । खोलामा पानी सुकेकाले सिँचाइ गर्ने उपाय छैन । यस वर्ष ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा खासै हिउँ पर्न सकेन वर्षा र हिमपात नभएसँगै अलैँची बगानका लागि चिस्यानको थप समस्या भएको छ ।

हरियो देखिनुपर्ने बगान यतिबेला सुकेर रातै देखिन थालेको फुङ्लिङ नगरपालिका–६ सिद्धिडाँडाका कृषक कृष्ण गुरुङले बताए । गुरुङले भने, “मैले ४० वर्षदेखि अलैँची खेती गर्दै आएको छु । विगतका वर्षमा ४० मन (४० केजीको एक मन) सम्म अलैँची जम्मा गरेँ तर बिस्तारै अलैँची रोग र समयमा पानी नपर्दा सुक्न थालेको छ । बोट नै सुक्न थालेपछि फलको के आशा गर्नु र ।”

विगतका वर्षमा पुसको तेस्रो सातादेखि वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने गथ्र्यो । तर यस वर्ष भने खासै हिमपात भएन । हिमाली क्षेत्रमा हिमपात नहुँदा पानीका स्रोत पनि कम हुँदै गएको फक्ताङलुङ गाउँपालिका–५ का पार्वती आधारभूत विद्यालयका प्रधानध्यापक राजु हेल्लोकले बताए । उनले भने, “खासै यसपालि हिमालमा हिउँ परेन । पर्याप्त वर्षा पनि भएको छैन । अलैँची बगानमा पर्याप्त सिँचाइ नहुँदा सुक्न थालेको छ ।”

सिरिजङ्घा गाउँपालिका–६ माङ्माखेका किसान रनकुमार माबोको यतिबेला हरियो हुनुपर्ने बगान सुकेर रातो भएको छ । गत वर्ष राम्रो मौसम हुँदा यो वर्ष उत्पादनमा वृद्धि भएको थियो । अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउन सक्ने माबोको भनाइ छ । “यतिबेला पालो गरी–गरी बोट भिजाउनुपर्ने हो”, उनले भने, “खोलामा थोपो पानी नहुँदा सिँचाइको समस्या भएको छ ।”

साउनदेखि मङ्सिर पहिलो सातासम्म टिपिसक्ने अलैँची मा त्यसपछि सिँचाइ गर्नुपर्छ । सम्भव हुनेले प्रत्येक बोटको फेदमा मल लगाएर त्यसलाई भिजाउँछन् । जरामा चिस्यान रहोस् भनेर पतझडले छोप्ने र त्यसमाथि सिँचाइ गर्ने चलन पनि छ । “पानी नै नभएपछि यी सबै सम्भावना सकिँदो रहेछन्”, मेरिङदेन गाउँपालिकाका अलैँची कृषक शेखर लिम्बूले भने । “केही ठाउँमा पानीको स्रोत भएका कृषकले भने स्प्रिङकल (सिँचाइ गर्ने एक प्रकारको मेसिन)बाट सिँचाइ गरिरहेका छन् ।”

गत वर्ष माघभरिमा चारपटक वर्षा भएको थियो । तीन पटकसम्म परेको ठूलो हिमपातले खोलामा पानी प्रशस्तै बग्यो । यस वर्ष चैतमा केही वर्षासँगै आएको असिनाले अलैँचीको पात धुजाधुजा बनाएको छ । चैतमा केही समय वर्षा भए पनि त्यसयता वर्षा हुन नसकेकाले अलैँची सुक्न थालेको किसानको भनाइ छ ।

यतिबेला जिल्लाका बेँसीदेखि लेकसम्मकै बालीनालीमा असर परेको किसानको दुःखेसो छ । वर्षाले टुसामा फूल खेल्न सहयोग गर्दछ र अर्को वर्षको उत्पादनमा वृद्धिमा सहयोग पुर्‍याउँछ । यतिबेला अलैँचीलाई पानीको अधिक आवश्यकता पर्छ । पानीले भिजाउने र तातोले राप सिर्जना गर्दा जरा मर्ने जोखिम अति हुन्छ । जमिन तातेको बेला वर्षा हुँदा राहतको साटो बिरुवालाई आहत हुने किनानको भनाइ छ । हिमालमा हिउँ हुँदा त्यहाँबाट आउने चिसो हावाले पनि राहत हुने तर त्यो नभएकाले किसान चिन्तित बनेका छन् । अलैँचीलाई ओसिलो जमिन, सिँचाइ सुविधा अनिवार्य चाहिन्छ ।

एक नगरपालिकासहित नौ स्थानीय तह ताप्लेजुङमा ६१ वडा रहेको छ । फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्दै आएका छन् । जिल्लाको मुख्य आम्दानी स्रोत भनेकै अलैँची हो भन्दा फरक पर्दैन ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङको तथ्याङ्कअनुसार यो आर्थिक वर्ष दुई हजार छ सय ५० टन अलैँची उत्पादन भएको छ। जिल्लाको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको छ । गत वर्षको तुलनामा ५० हेक्टरले कमी रहेको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । फल लाग्नुभन्दा पहिला यो समयमा अलैँचीको टुसा लाग्ने गर्दछ।

विगतमा एक मन (४० केजी)को रु एक लाख २० हजारसम्ममा खरिद बिक्री भएको थियो । अहिले ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बजारमा प्रतिमन अलैँची रु ३४ हजारमा खरिद बिक्री भइरहेको फुङ्लिङ नगरपालिका–५ का अलैँची व्यापारी दिनेश अधिकारीले बताए।

छ अर्ब ३५ करोडको निर्यात
चालु आवको नौ महिनामा नेपालबाट रु. छ अर्ब ३५ करोडको अलैँची निर्यात भएको भन्सार विभागकले जनाएको छ । भन्सार विभागका अनुसार गत साउनदेखि चैतसम्ममा गत वर्षको तुलनामा दोब्बर बढी रकमको अलैँची निर्यात भएको हो ।

गत वर्ष सोही अवधिमा रु. तीन अर्ब ८५ करोडको अलैँची निर्यात भएको थियो । चालु आवमा रु. आठ अर्ब बराबरको अलैँची निर्यात हुने अनुमान गरिएको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताए । अठहत्तर लाख ७१ हजार किलो अलैँची भारत, पाकिस्तान, जर्मनी र इटलीमा निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here