बेरुजु बढ्नुको कारणसहित टिप्पणी फाइल पठाउन परिपत्र

0
47

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्लाका जिल्ला समन्वय प्रमुख र जिल्ला समन्वय अधिकारीलाई परिपत्र गर्दै सरकारी कार्यालयमा बेरुजु देखिनुको कारणसहित आगामी जेठ १५ गतेसम्ममा टिप्पणी फाइल पठाउन परिपत्र गरेको छ ।

बेरुजु फछ्र्यौटको कामलाई उच्च प्राथमिकतामा राख्न निर्देशनसहित मन्त्रालयले मंगलबार परिपत्र गरेको हो । “महालेखा परीक्षकको कार्यालयबाट नियमित हुनुपर्ने भनी औँल्याइएको बेरुजुको सम्बन्धमा आवश्यक प्रमाण तथा कागजात जुटाई तथ्यपरक प्रतिक्रिया तयार गरी पुष्ट्याईसहित सक्कल टिप्पणी फाइल नियमित गर्न जेठ १५ गतेभित्र मन्त्रालयमा उपलब्ध गराउनुहोला”, मन्त्रालयको परिपत्रमा भनिएको छ ।

सरकारी कार्यालयको बेरुजु फछ्र्यौटको प्रतिशतलाई सम्बन्धित लेखा उत्तरदायी अधिकारी र उक्त कार्यालयमा काम गर्ने कर्मचारीको कार्य सम्पादन मूल्यांकनका आधारका रुपमा लिइने कानुनी व्यवस्था छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले बेरुजु फछ्र्यौटका आधारमा कर्मचारीको कार्य सम्पादन मूल्यांकन हुने उल्लेख छ ।

मन्त्रालयले परिपत्रमार्फत सम्बन्धित लेखा उत्तरदायी अधिकारी र कर्मचारीलाई यो कानुनी व्यवस्थाबारे पनि स्मरण गराएको छ । बेरुजु फछ्र्यौट गर्ने/गराउने कार्यलाई अभियानका रुपमा सञ्चालन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । सरकारी कार्यालयमा रहेको बेरुजु असुलउपर गरी लेखापरीक्षकको कार्यालयबाट सम्परीक्षण गराउन पनि परिपत्रमार्फत निर्देशन दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here