हिंसा रोकथाम

0
74

साउन १२, काठमाडौँ । विकृत मनस्थितिले अर्कालाई बिनाकारण हेप्ने, होच्याउने गालीगलौज गर्ने वा शारीरिक मानसिक रूपमा नराम्रो असर पार्ने गरी नकारात्मक व्यवहार गर्नु नै हिंसा हो। अनुशासनहीन अभद्र र अमर्यादित दुव्र्यवहारबाट हिंसाको सुरुवात हुन्छ । हिंसामा पीडित र पीडक दुई पक्ष हुन्छन् । पीडकले पीडितलाई बिनाकारण दुःख दिइरहेको हुन्छ भने पीडित निर्दोष हुँदाहुँदै पनि यातना सहिरहेको हुन्छ। यसको असरले जीवनमा लिने अप्ठ्यारा मोडका बारेमा त कल्पना नै गर्न सकिँदैन। पीडित र पीडक एक–अर्काप्रति सशङ्कित भइरहेका हुन्छन्।

हिंसाका बारेमा विश्लेषण गर्दा परिस्थिति विकराल छ। कोही हिंसाबाट पीडित छन् भने हिंसा गर्नेहरू त्यसलाई लुकाउन समर्थन जुटाउँदै झन् बलियो बनिरहेका छन्। झुटोलाई झुटो हो नभनी साँचो जस्तो गरी समर्थन गर्ने झुन्डको पनि यहाँ कमी छैन। त्यसैले हिंसालाई यो हिंसा भयो भनी सही रूपमा टुङ्गोमा पु¥याउन निकै कठिन र महँगो हुन गएको छ।

यस पटक प्रतिनिधि सभामा बलात्कारको उजुरी दिने हदम्याद बढाउने विषयमा लामो छलफल भयो। बलात्कारका घटना बढ्दै गएकाले केटाकेटीको विवाह गर्ने उमेर घटाउने कि भन्ने विषयमा छलफल सुरु भयो। छलफलमा कति हुन्छ भन्ने पक्षमा उभिनुभयो कति हुँदैन भन्ने पक्षमा उभिनुभयो। विवाहको उमेर घटाउन हुँदैन भन्ने पक्षमा यो विषय टुङ्गियो। छलफलको अवधिभर निकै दुःख लाग्यो किनकि संसद्मा यो विषय उठ्नु गरिमामय प्रतिनिधित्वको अपरिपक्वता जस्तो लाग्यो।

केही दशक अगाडिसम्म महिला हिंसा र घरेलु हिंसाले चर्चा पाइरहेको हुन्थ्यो। महिला हिंसा भनेको महिलामाथि हुने हिंसा हो। हिंसाको चरम सीमा नाघेर पुरुषहरूबाट महिलाले दुःख पाएका घटना धेरै हुन्थे र अझै पनि छँदै छन्। कतिपय घरपरिवारका सदस्यहरूबाट पनि आफ्नै परिवारका सदस्यलाई दुव्र्यवहार गरी दुःख दिने घटना भइरहेका हुन्छन्। यो नै घरेलु हिंसा हो। घरेलु हिंसाबाट पनि महिला नै बढी मात्रामा पीडित हुन्छन्। पुरुषहरूमा पनि हिंसा बढ्दै जान थालेको भनी पछि

लैङ्गिक हिंसाको चर्चा हुन थाल्यो। लिङ्गका आधारमा हुने हिंसा भनी महिला र पुरुष दुवैमा हुने हिंसालाई समेट्न खोजिएको छ। आज–भोलि महिलाबाट पुरुष पीडित भएका घटनासमेत आइरहेका छन्। महिला धेरै पीडित छन्। पुरुषको सङ्ख्या पनि बढ्दो छ तर हिंसा कसैमा पनि हुनुहुँदैन।

महिलाहरू घरपरिवारमा, मेलापात, घाँसदाउराका लागि वनजङ्गल जाँदा, छोरीहरू विद्यालय जाँदा, बाटाघाटा हिँड्दा, बसमा यात्रा गर्दा, कार्यस्थलमा काम गरिरहेका बेला जता पनि असुरक्षित छन्। दाइजो कम भएको निहुँमा र सन्तानको आमा भइसकेकालाई पनि दुःख दिएका, तेजाब हाली कुरूप तथा अङ्गभङ्ग गरिदिएका, डढाइदिएका दुखद घटना समाजमा छन्। बालविवाह, बहुविवाह, अनमेल विवाह, बहुपति प्रथा, अपरिपक्व उमेरमा र छोटो समयमा भएको प्रेम सम्बन्धको बहानामा घटेका बलात्कार, हत्या र अपहरण जस्ता अकल्पनीय पीडादायी घटना आदि हिंसाका उदाहरण हुन्।

यस्ता अप्रिय घटना हुनुको कारण विश्लेषण गर्दा हाम्रो पारिवारिक संरचना, वातावरण र देशको आवश्यकताअनुकूलको शिक्षा हुन सकेन। हामीले पाएको शिक्षाले आफ्नो र आफन्तको सुरक्षाप्रति सचेत गराउन सकेन। स्वावलम्बी, स्वाभिमानी, आत्मनिर्भर, नैतिकवान् र चरित्रवान् बनाउन सकेन। शिक्षा व्यावसायिक र जीवनोपयोगी हुन सकेन। आफ्ना राम्रा पक्ष चिन्न सकेनौँ, अरूको नराम्रो पक्षलाई पनि राम्रो मान्न थाल्यौँ। जसले गर्दा अभद्र व्यवहार बढ्दै जान थाल्यो र अप्रिय घटना हुन थाले। मान्छे मान्छेसंग डराउनुपर्ने अवस्था आउन थाल्यो, यसले नै हिंसा सिर्जना ग(यो।

अहिलेको समयमा सामाजिक सञ्जालबाट प्रेम सम्बन्धको बहानामा पनि बलात्कार, हत्या, बालबालिकाको अपहरण, चोरी गर्न सिकाउने माग्ने काममा लगाउने, किशोरीहरूलाई देहव्यापारमा लगाउने, दुव्र्यसनी गराउने घटना बढिरहेका छन्। वैदिक वैवाहिक नियमको मान्यताविपरीत अविवाहित केटाकेटी विवाह नगरी संगै बस्ने ९लिभिङ टुगेदर० र नाता सम्बन्धमा पनि विदेश जान सजिलोका लागि विदेश गएर छुट्टै बस्ने गरी कागजी विवाह ९पेपर म्यारिज० गरी विदेश जाने क्रम पनि बढ्दो छ। केही समय पछिबाट यी सबै हिंसाका कारण हुन जान्छन्।

यस्ता कारणबाट घरपरिवारलाई जोगाउनु घरपरिवारका सदस्यको जिम्मेवारी हुन आउँछ। घरमा साना लालाबाला र वृद्धको संरक्षण गर्ने, घरपरिवारलाई सही बाटोमा हिँडाउनुको साथै पारिवारिक सुरक्षाका बारेमा सचेत गराउँदै घरपरिवारका सदस्यले घरपरिवारको सुरक्षाको जिम्मेवारी लिन सक्ने वातावरण बनाउन सक्नुपर्छ। बालबालिकाहरूको पहिलो शिक्षिका आमा हुन् र पहिलो विद्यालय घर हो। यो मान्यतालाई सबैले स्वीकार्नुपर्छ र जिम्मेवार हुनुपर्छ। युवाशक्ति वैदेशिक रोजगारमा गएका कारण घरपरिवार र समुदाय शक्तिविहीन भएको छ। त्यसैले हिंसा पनि बढिरहेको छ। विप्रेषणबाट राज्य चलाउने लालच राम्रो होइन।

सरकारले दिने औपचारिक, अनौपचारिक शिक्षामा पारिवारिक जिम्मेवारीमा घरपरिवारका मुख्य सदस्यको जिम्मेवारीका विषयमा बढी संवेदनशील भई नैतिकताको विषयवस्तु पाठ्यक्रममा समावेश गरिनुपर्ने आवश्यकता देखिएको छ। अनौपचारिक शिक्षाको जीवनमा धेरै ठूलो भूमिका हुन्छ। घरपरिवार, समुदाय र समाजबाट पाइने शिक्षाले व्यक्तिको व्यक्तित्व निर्माण गर्छ भने व्यक्तिको व्यक्तित्वले उसको घरपरिवार र ऊ हुर्केको समाजको चित्रण गर्दछ। त्यसैले घरपरिवार र समाजले पारिवारिक अनौपचारिक शिक्षाको माध्यमबाट सामाजिक मूल्य मान्यता, धर्म, संस्कृति, संस्कार रीतिरिवाज, आहारविहार, वेशभूषा, पारिवारिक मूल्य मान्यता, मर्यादा र मायाका तरिका, चालचलनका कुरा साथै जीवनमा घट्न सक्ने अप्रिय घटनाहरू र त्यस्ता घटनाबाट जोगिने उपायका बारेमा बालबालिकालाई उनीहरूको उमेरअनुसार सिकाउँदै र सचेत गराउँदै जानुपर्छ। आफ्नो नागरिक, घरपरिवार, समाज र राष्ट्रका लागि सही भूमिका सिकाउनुका साथै महिला हिंसा र पारिवारिक हिंसा न्यून गर्दै जाने विषयवस्तु पाठ्यक्रममा समावेश गरिनुपर्ने राष्ट्रिय शिक्षाको आवश्यकता देखिएको छ । जसबाट घरपरिवार देवालय जस्तो हुनेछ। यस्तो वातावरणमा हुर्केका सन्तति भोलिका देशभक्त र योग्य नागरिक बन्नेछन्। यसबाट भोलिको राष्ट्र सुखी र समृद्ध नेपालबाट परिचित हुनेछ।

महिला धेरै पीडित भए। यसरी पीडित हुनुको कारण आर्थिक विपन्नता हो भनी महिलालाई आर्थिक रूपमा सम्पन्न गराउनका लागि ग्रामीण भेकका विपन्न र अशिक्षित महिलालाई केन्द्रबिन्दुमा राखी ग्रामीण महिला उत्पादन कर्जा कार्यक्रम आ।व। २०३८/३९ मा तत्कालीन नेपाल सरकारले सुरुवात गरेको थियो । जसलाई ग्रामीण महिलाको पेवा बढाउने कार्यक्रम पनि भनिन्थ्यो। आर्थिक सशक्तीकरणका साथै सामुदायिक विकासमा महिलालाई सहभागी गराई सामाजिक सशक्तीकरण गराउने कार्यक्रम सञ्चालित थिए। पछिल्ला चरणमा लैङ्गिक समविकासका कार्यक्रम सञ्चालित थिए।

महिला विकास कार्यक्रम जिल्लास्थित महिला बालबालिका कार्यालयबाट सञ्चालन भइरहेको थियो भने केन्द्रमा महिला बालबालिका विभाग र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय रहेको थियो। सुरुमा पाँचवटा जिल्लाबाट सुरु भएको यो कार्यक्रम आ।व। २०५६र५७ सम्ममा ७५ जिल्लामा पुगेको थियो तर स्रोत साधनका कारणले गर्दा सबै वडा र गाउँपालिका, नगरपालिकामा पुग्न सकेको थिएन। कार्यक्रम लागू भएका क्षेत्रका महिला सशक्त रूपमा अगाडि बढेका थिए।

स्रोत साधनको व्यवस्था गरी अन्य क्षेत्रमा पनि कार्यक्रम जाँदै छ भन्ने आश्वासन सबैले पाएका थिए। महिलाका लागि कार्यक्रम सञ्चालन गर्ने संवेदनशीलतालाई मनन गरी महिला कर्मचारीबाट कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको थियो। कार्यक्रममा आबद्ध समूह, समिति र संस्था परिचालन गरी कम जनशक्तिबाट पनि कार्यक्रम चलिरहेको थियो तर जनआन्दोलनपछि सरकारी कार्यालय समायोजन गर्ने क्रममा जिल्लास्थित महिला बालबालिका कार्यालय हटाइयो। जिल्लास्थित महिला बालबालिका कार्यालय हटाइनु गरिब, निमुखा र अशिक्षित महिलामाथि सरकारी स्तरबाट भएको अन्याय नै हो।

कमला खनाल गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here