धनकुटामा पत्थरका मूर्ति बन्न छाड्यो

0
40
प्रस्तर कलाको क्षेत्रमा काम गर्ने सिल्पकार श्रीकृष्ण जोशीले काम गर्न छाडेपछि अब धनकुटामा पत्थर (ढुङ्गा) का मूर्तिहरु बन्न बन्द भएको छ । जिल्लामा जोशी मात्र यस क्षेत्रका एक दक्ष र अनुभवी व्यक्ति थिए । स्वास्थ्यमा समस्या देखापरेपछि उनले दुई वर्षअघिदेखि काम गर्न छाडेपछि अब धनकुटामा मूर्तिकलाको एक अध्याय सकिएको छ ।बहत्तर वर्षिय धनकुटा नगरपालिका–६ निवासी जोशीले काम गर्ने क्रममा आफ्नो स्वास्थ्यले साथ नदिएपछि मूर्ति निर्माण काम गर्न छाडेको जानकारी दिए । “उच्च रक्तचापले बिरामी भएर हात कमजोर भयो, परिवारले पनि काम नगर्नु भनेपछि छाडिदिएँ”, उनले भने । यस क्षेत्रमा उनी झण्डै २५ वर्षसम्म क्रियाशील थिए ।  वि.सं २०३० देखि १८ वर्ष सरकारी सेवा गरेर २०५२ सालमा निवृत्त भएपछि उनी यस क्षेत्रमा संलग्न भएका थिए ।

कुनै प्रशिक्षण नलिएका जोशीले सानैबाट मूर्तिकलामा रुची भएकाले जागिर छाडेपछि यसलाई आफ्नो निर्वाहको माध्यम बनाएका थिए । कलाकारितामा लागेपछि नाम र दाम मिलेको बताउँदै उनले भने, “यसले मलाई पाँच जनाको परिवारको जीवनयापनका लागि सहज भएको थियो । अब यो काम छाडेपछि भने आर्थिक समस्याले पिरोलेको छ ।”

उनले निर्माण गरेका पत्थरका मूर्ति विभिन्न मन्दिर र सार्वजनिक स्थलमा स्थापना गरिएका छन् । प्रारम्भमा एक मूर्तिको एक हजार आठ सय रुपैंयामा काम गरेका जोशीले पछिल्लो समय एक लाखसम्म लिने गरेको बताए । उनका अनुसार एक फुट पत्थरको मूर्ति बनाउन १५ दिनदेखि एक महिना लाग्ने गर्दछ ।

उनले आफूले निर्माण गरेका मूर्तिहरु जिल्ला बाहेक काठमाडौं, रोल्पा, तेह्रथुम, सुनसरीका लागि ७० भन्दा स्थानमा स्थापना गरिएको जानकारी दिए । काठमाडौं त्रिभुवन विश्वविद्यालयका लागि लक्ष्मीप्रसाद देवकोटाको शालिक, धनकुटा छिन्ताङ्ग हत्या काण्डका १६ शहिद मध्ये १० वटा शालिक, धनकुटाका शहिद भीमनारायण श्रेष्ठको शालिक, धनकुटाका प्रजातन्त्र सेनानी डगलसिंह लिम्बूको शालिक जोशीका मुख्य कृति हुन् ।

आफ्नो एकल प्रयासमा चार वर्ष लगाएर धनकुटा नगरपालिका–६ को लहरे चौतारा भन्ने स्थानमा  निःशुल्क रुपमा विशाल पत्थरमा कुँदेर गणेश र महाकालीको मूर्तिसँगै मन्दिर र पार्क बनाएपछि जोशी देशभरि चर्चामा आएका थिए । विसं २०५९ देखि २०६३ मा निर्मित यस श्री शक्ति विनायक मन्दिर तथा पार्कमा ती मूर्ति बाहेक सिमेन्टबाट बनेको सिड्नी साई बाबा, भीमसेन, गजराजलगायत विभिन्न मूर्तिहरु यहाँको मुख्य आकर्षण रहेको छ ।

यस क्षेत्रमा नाम र दाम भए पनि नयाँ पुस्तामा जागरण र धैर्यता नभएकाले प्रस्तर कलालाई दोस्रो पुस्तामा हस्तान्तरण गर्न नसकिएको उनको गुनासो छ । “अहिलेका पुस्ताहरु कम्प्युटरमा बटम थिचेर तुरुन्त बन्ने वस्तु खोज्छन् तर पत्थरमा मूर्ति बनाउने त्यस्तो सोच र धैर्यताले सम्भव छैन”, जोशीले भने । नेपाल सरकारको क्षेत्रीय प्रतिभा पुरस्कार (२०६७), राष्ट्रिय प्रतिभा पुरस्कार (२०७९), साविक जिल्ला विकास समिति धनकुटा, धनकुटा नगरपालिकालगायत देशका विभिन्न सङ्घ/संस्थाबाट उनी सम्मानित तथा पुरस्कृत छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here