काठमाडौं । जिल्ला प्रशासन कार्यालय बैतडीले भारतस्थित तपोवन धार्चुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकोले महाकाली ततीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन बढ्दै गएको र पानीको प्रवाह वृद्धि हुँदै गएकाले बाँधको ढोका खोलिने धौलीगंगा पावर स्टेशन धार्चुलाबाट जानकारी प्राप्त भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।
लगातारको वर्षा र बाँध खोलिएपछि दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी आसपासका बासिन्दालाई सचेत रहन र नदी छेउछाउमा नजान तथा सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको हो ।
धौलीगंगा जलविद्युत् परियोजनाको बाँध वर्षाका वेला हरेक वर्ष खोलिन्छ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि नेपाललाई पनि जानकारी गराइन्छ ।