ललिता निवास प्रकरण: ७ जना पक्राउ, पक्रेकै दिन ३ जना रिहा

0
111

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार शाहसहित ७ जनालाई पक्राउ गरेको हो ।

ललिता निवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानमा खुलेको थियो । जसमा उनको समेत मिलेमतोको रहेको सिआइबीले जनाएको छ । शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए ।

गृह मन्त्रालयको सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए । यसअघि यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई सिआइबीले पक्राउ गरेको थियो ।

सिआइबीले आजै डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र गोपाल कार्कीलाई पक्राउ गरेको हो ।

मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा रहँदा उनीहरूले राजनीतिक, प्रशासनिक, व्यापारिक र भुमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपिएको पाइएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका मध्ये तीन जना भने अदालतको आदेशमा रिहा भएका छन् । पक्राउ परेका मध्ये सुरेन्द्रमान कपाली, कलाधार देउजा र हुपेन्द्रमणी केसीका नाममा अदालतबाट ‘स्टेअर्डर अन्तरिम आदेश आएकाले उनीहरु रिहा भएको सीआईबीका प्रबक्ता एवम् प्रहरी उपरिक्षक सञ्जय सिं थापाले जानकारी दिए ।

ललिता निवासको २९९ रोपनी जग्गामध्ये १ सय १४ रोपनी जग्गा हिनामिना भएको प्रहरीको निष्कर्ष छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धानका भईरहेको छ ।

ललिता निवास प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधव नेपाल, बाबुराम भट्टराई तथा पूर्व उपप्रधानमन्त्री विजयुमार गच्छेद्धारसहित १७५ जना मुछिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here