शरणार्थी प्रकरण: १८ अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस हुने

0
86

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १८ अभियुक्तको बयान सकिएको छ ।

शुक्रबार पूर्व गृहमन्त्री बालकृष्ण खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान सकिएसँगै अदालती बयान सकिएको हो । बाँकीसँगको बयान यसअघि नै सकिएको थियो ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले आरोपितविरुद्ध आइतबारबाट थुनछेक बहस सुरु हुने बताए । थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ ।

न्यायधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिँदै पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पीडितको आरोप र प्रहरी बयानमा उल्लेख गरेका सबै विषयवस्तुमाथि इन्कारी बयान दिएका छन् ।

रायमाझीले केशव दुलाललाई राजनीतिक कार्यक्रममा दुइ पटक भेट भएको र अर्का आरोपी सानु भण्डारीसँग आफ्नो व्यक्तिगत चिनजान नभएको तथा भण्डारीमार्फत पैसा बुझेको विषय झुटा आरोपमात्रै भएको दाबी गरेका छन् । उनले बयानकै क्रममा आफ्नो राजनीतिक छवि धुमिल्याउन दुलाले आफ्नो नाम कसैको उक्साहटमा आएर लिएकोसमेत उल्लेख गरेका छन् ।

यस प्रकरणका मुख्य योजनाकार मध्येका एक मानिएका इन्द्रजित राइले पनि इन्कारी बयान दिएका छन् । उनले आफुमाथि लगाएका सबै आरोप गलत रहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै प्रकारले संलग्न नभएको बताएका छन् ।

तर अन्य केही प्रतिवादीले भने राइलाई नेपाली नागरिकलाई शरणार्थीका रुपमा अमेरिका पठाइदिने बापत नगद रकम दिएको बयान दिएका छन् । यद्यपी राइले यसबारेमा कसैसँग पैसा नलिएको दाबी गरेका छन् । रायमाझी र राइले मात्रै होइन अन्य उच्च पदस्थहरुले पनि इन्कारी बयान दिएका अदालत स्रोतले जानकारी दिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर राष्ट्रहित प्रतिकूल हुने कसूर, संगठित ठगी र कीर्तेमा मुद्दा दायर गरेको थियो । सरकारी वकिल र प्रतिवादीतर्फका वकिलको बहसपछि आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here