पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित उनका स्वकीय सचिव पक्राउ

0
54

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबबहादृुर कार्कीले खाँणलाई मैजुबहालको निवासबाट पक्राउ गरी प्रहरी परिसर टेकु लगिएको जानकारी दिए ।

यस्तै प्रहरीले खाँणको स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ । यही प्रकरणमा केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो । नक्कली शरणार्थी प्रकरणमा खाँणसहित हालसम्म १२ जना पक्राउ गरिएको छ ।

यसअघि पक्राउ परेकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी‚ टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ, रामशरण केसी र गोविन्द चौधरी रहेको छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने संगठित गिरोहको ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् । उनलाई खोज्न ७७ जिल्लामा परिपत्र गरिएको छ ।

जिल्ला प्रहरी परिसरले उनीहरूविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म १०६ जना पीडितले २० वटा जाहेरी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here