नक्कली कागजात देखाएर नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ

0
58

काठमाडौ । नक्कली कागजात देखाएर नेपाली नागरिकताको प्रमाणपत्र लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार उनीहरूलाई शंखमूल, कलंकी, बागबजार र बानेश्वरबाट पक्राउ गरी आइतबात्र सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश स्थायी बसोबास गर्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमतिदेवी गुप्ता, ३९ वर्षीय गोपाल गुप्ता, ४४ वर्षीय रामसुन्दर गुप्ता, ४३ वर्षीय रामप्रवेश गुप्ता, ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मीनादेवी गुप्ता र ५२ वर्षीय राजेशकुमार गुप्ता रहेका छन् ।

नेपालको तराईका विभिन्न जिल्लाबाट विभिन्न समयमा नागरिकता बनाउन स्थलगत खटिएको टोलीबाट उनीहरूले नेपाली नागरिकता लिएको खुलेको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनीहरूको साथबाट नेपाली नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र र काठमाडौंमा बसाइँसराइ गरेको प्रमाणपत्रसहित भारतीय दूतावासले प्रदान गरेको भारतीय नागरिक भएको सिफारिसपत्र, भारतीय सवारीचालक अनुमतिपत्र, भारत सरकार आयकर विभागको कार्ड, भारतीय पासपोर्ट र आधार कार्ड बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार पक्राउ परेका भारतीय नागरिकले सिराहा, बारा, पर्सा, रुपन्देहीलगायतका जिल्लाबाट नेपालमा घरजग्गा कारोबार गरेको झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएका पाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here