मिटरब्याजसम्बन्धी अध्यादेश जारी भए पनि रोकिएन पीडितको धर्ना

0
52

काठमाडौं । तराईका विभिन्न जिल्लाबाट आई आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितहरूले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । नवलपरासी, महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरूले काठमाडौंको शान्तिवाटिकामा धर्नालाई निरन्तरता दिएका हुन् ।

उनीहरुले राजनीतिक रूपमा दृष्टिबन्धक, तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने लगायतका माग गरेका छन् । उनीहरूले आफ्ना माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

अहिले सबैभन्दा ठूलो समस्या मुद्दा परिरहेकाले मुद्दा स्थगित हुनुपर्ने र मुद्दा छिनोफानो भइसकेको भए पुनरावेदन हुनुपर्ने, पक्राउ पुर्जी रोक्नुपर्ने माग आफूहरूको रहेको पीडितले बताए । उनीहरूले जेलमा भएका पीडितहरूलाई ससम्मान रिहा गर्नुपर्ने माग पनि गरेका छन् ।

सरकारले मिटरव्याज पीडितको समस्या समाधान गर्न अध्यादेश नै जारी गरे पनि आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितहरूले धर्ना भने रोकेका छैनन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मिटरब्याजीलाई कारबाही गर्न मुलुकी अपराध संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका थिए ।

जारी अध्यादेशमा उच्च ब्याजदरमा पैसा लगाउनु फौजदारी अपराध मानिएको छ । अध्यादेशमा मिटरब्याजलाई अनुचित लेनदेन भनिएको छ ।

अनुचित लेनदेन गरेमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । यसअघि कानुन नहुँदा मिटरब्याजीमाथि कारबाही गर्न समस्या भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here