काठमाडौं । दार्चुलामा आएको हिमपहिरोमा परेका सात जनाको उद्धार गरिएको छ । हिमपहिरोमा परेका ५ जना भने अझै बेपत्ता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम चौधरीले जानकारी दिए ।
उनका अनुसार यसअघि ४ जना बेपत्ता भनिएकोमा अहिले सुरक्षानिकायको टोली सोही स्थानमा पुगेर बुझ्दा ५ जना अझै बेपत्ता रहेको खुलेको छ । मंगलबार जिल्लाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरो आएको थियो ।
त्यहाँ यार्सागुम्बा संकलन गर्न गएका मानिस बेपत्ता भएका हुन् । मान्छे बेपत्ता भएपछि छाङरुको गाँगाबगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० नं गुल्मबाट रेस्क्यू टोली बोलिनतर्फ गएको थियो। अहिले सो टोली त्यहाँ पुगेर उद्धारमा जुटेको छ ।
यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस पाल टाँगेका ठाउँमा फर्किने क्रममा हिमपहिरोमा परेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए । पाल टाँगेका ठाउँबाट यार्सा खोज्न बिहान हिमालको नजिक जाने गर्छन् ।
केही दिनदेखि छाङरु र तिंकरलगायतका ठाउँमा हिमपात भइरहेको छ । त्यहाँ एकदुई फिट हिउँ जमेको र सदरमुकामबाट वस्तुभाउ लगेर छाङरु, तिंकर हिँडेकाहरू पनि हिमपातले बाटोमै रोकिएको बताइएको छ ।