काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्र फोहोर उठाउन आनाकानी गरिरहेका वेला ककनी गाउँपालिका र धुनवेशी नगरपालिका पनि विरोधमा उत्रिएका छन् । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनवेशी नगरपालिकाले काठमाडौंको फोहोर फाल्न नदिने चेतावनी दिएको हो ।
ककनीका अध्यक्ष सुमन लामा र धुनवेशीका मेयर बालकृष्ण आचार्यले संयुक्त प्रेस विज्ञप्ति जारी गरी काठमाडौं महानगरलाई १५ दिनभित्र माग पूरा गर्न अल्टिमेटम दिएको छ । दुवै स्थानीय तहको कार्यपालिकाको बैठकले १५ दिनभित्र माग पूरा नगरे फोहोर फाल्न नदिने निर्णय गरेको जनाइएको छ ।
ककनी र धुनवेशीका जनप्रतिनिधिको बैठकले ६ वटा माग राखेको छ । जसमा यअसघि काठमाडौं महानगरपालिका र शहरी विकास मन्त्रालयले गरेको सहमति कार्यान्वयन नभएको उल्लेख गर्दै तत्काल कार्यान्वयन गर्न माग गरिएको छ ।
त्यस्तै, फोहोर मैला व्यवस्थापनको लागि वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोली गठन गरी न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन् ।
ककनी र धुनवेशीका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गिकरण गरी बञ्चरेडाँडाबाट दुई किलोमिटर जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा विरतणको प्रक्रिया तुरुन्त अघि बढाउन पनि दुवै स्थानीय तहका जनप्रतिनिधिले माग गरेका छन् ।