गाईभैँसीमा देखियो लम्पी स्किन रोग

चितवन । चितवनमा गाईभैँसीमा लम्पी स्किन रोग देखापरेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यले केही दिनदेखि जिल्लामा यो रोगको सङ्क्रमण फैलिएको जानकारी दिए । जिल्लामा दुई सयभन्दा बढी गाईभैँसीमा यो रोग देखिएको उनले बताए ।

इच्छाकामना गाउँपालिका, कालिका, खैरहनी र राप्ती नगरपालिकामा यो रोगको संक्रमण बढ्दो क्रममा छ । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्छ ।

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्छ । यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुन्छ । संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ।

यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए ।

चौपायालाई यो रोग लाग्नबाट बचाउन लम्पी स्किनविरुद्धको खोप लगाउन आवश्यक रहेको उनले बताए । यो रोग जिल्लामा गत आर्थिक वर्षदेखि देखा परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार